अन्तराष्ट्रिय कराँते च्याम्पियनसीपमा लमजुङका खेलाडीहरुको सानदार प्रदर्शन

बेसीशहर, पुस २७

काठमाडौंमा आयोजित  छैटौँ अन्तराष्ट्रिय कराँते च्याम्पियनसीप २०१८ मा लमजुङका खेलाडीहरुले सानदार प्रदर्शन गर्दै नेपाललाई प्रथम बनाउन ऐतिहासिक भूमिका खेलेका छन् । यस प्रतियोगितामा लमजुङका खेलाडीहरुले ९ स्वर्ण, ५ रजत र ४ वटा कास्य पदक जिती इतिहास रच्न सफल भए ।
जापान गोजुरियो कराँते डो केन्वोकाई नेपाल लमजुङ शाखाबाट सहभागी खेलाडीहरुको उत्कृष्ट प्रदर्शनका कारण नेपालले सो अन्तराष्ट्रिय प्रतियोगितामाप्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।
कुमुतेतर्फ ९–१० बर्ष समूहमा खेम तामाङले कास्य, १०–११ बर्ष समूहमा असिम गुरुङले स्वर्ण, ११–१२ समूह समूहमा प्रतीक बिसुरालले रजत पदक, १२–१३ बर्ष उमेर समूहमा सुनिल गुरुङले रजत पदक प्राप्त गरे ।
यस्तै, ५० केजी समूहमा सम्पूर्ण आलेले कास्य, ५५ केजीमा जेम्स तामाङले कास्य, ६० केजीमा अंकित गुरुङले स्वर्ण र पदम गुरुङले रजत पदक जिते । यसैगरी कातातर्फ ८–९ बर्ष उमेर समूहमा उमेश गुरुङले स्वर्ण, ९–१० बर्ष उमेर समूहमा असिम गुरुङले रजत, ११–१२ समूहमा प्रतीक बिसुरालले स्वर्ण, जुनियर बोइज समूहमा सुनिल गुरुङले स्वर्ण, सिनियर बोइज समूहमा प्रशिक्षक प्रकाश गुरुङले रजत पदक जितेका थिए । समूह कातातर्फ प्रतीक बिसुराल, असिम गुरुङ, सुनिल गुरुङले स्वर्णपदक प्राप्त गर्न सफल भए ।

काठमाडौंको वनस्थलीमा पुस १८ गतेदेखि सञ्चालन भएको उक्त च्याम्पियनसिम प्रतियोगितामा नेपाल, भारत, जापान र बंगलादेशका खेलाडी सहभागि थिए । प्रतियोगितामा नेपाल प्रथम, भारत दोस्रो र जापान तेस्रो भएको प्रशिक्षक प्रकाश गुरुङले जानकारी दिनुभयो ।
बेसीशहरमा कवर्ड हलको ब्यवस्था नहुँदा पनि प्रशिक्षक र खेलाडीहरुले हरेक बिहान फुलबारी मञ्च लगायत खाली चौरमा प्रशिक्षण गर्दै आएका छन् ।