चितुवाको अबैध छालासहित लमजुङ प्रहरीले तीन जना समात्यो

बेसीशहर, पुस ३० गते ।
चितुवाको छालासहित लमजुङ प्रहरीले तीन जनालाई बेसीशहरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका लमजुङका २७ बर्षिय विनोद तामाङ, सोही ठाउँ बस्ने बर्ष २७ का राजेश अधिकारी र सोही नगरपालिका वडा नं ६ बस्ने बर्ष २७ कै कमल तामाङ रहेका छन् ।
बेसीशहरको वडा नं. ८ स्थित घलेगाउँ होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । चितुवाको छाला तस्करीका लागि ल्याइएको गोप्य सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयका प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । टोलीले होटलमा छापा मारी उनीहरु बसेको कोठा नं. ११० को दराजमा प्लाष्टिकको बोरामा लुकाइ राखिएको चितुवाको छाला बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बरामद गरिएको चितुवाको छालामा नंग्रा र दारासमेत छन् । चितुवा संरक्षित जनावरमा पर्दछ । यसको शिकार  गैरकानुनी हो । पक्राउ परेकाहरुलाइृ प्रहरीले हिरासतमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।