मध्य नेपालको भोर्लेटारमा ब्यवस्थित बसपार्क निर्माण हुदैं

भोर्लेटार, माघ ९ गते ।
मध्य नेपाल नगरपालिकाको भोर्लेटारमा अब ब्यवस्थित बसपार्क निर्माण हुने भएको छ । भोर्लेटार बजार नजिकै थर्पु भन्ने स्थानमा बसपार्क निर्माण गर्न लागिएको हो ।
मध्य नेपाल नगरपालिकाको वडा नं. ६ थर्पु भन्ने स्थानमा बसपार्क बन्न लागेको हो । यसका लागि एक सय रोपनी जग्गाको ब्यवस्था भैसकेको छ । थर्पुमा रहेको सार्वजनिक जग्गा वरपरका केही ब्यक्तिहरुले खेती लगाउँदै आएकामा सोही जग्गालाई बसपार्कको प्रयोगमा ल्याउन लागिएको हो ।
बसपार्कका लागि आवश्यक जग्गाको चाँजोपाँजो मिलाइए पछि स्थानीय बसन्त घिमिरेको अध्यक्षतामा बसपार्क निर्माण समितिसमेत बनेको छ । समितिकै सक्रियतामा अहिले बसपार्क निर्माणको काम शुरु भएको हो ।
हाल सो जग्गालाई सम्याउने र छेउछेउमा नाली बनाउने कामको शुरुवात गरिएको छ । सो स्थानमा एक्साभेटर प्रयोग गरी जग्गा सम्याउने क्रम शुरु भैसकेको बसपार्क ब्यवस्थापन समितिका अध्यक्ष बसन्त घिमिरेले बताउनुभयो । हालसम्म करीब ५० प्रतिशत काम सम्पन्न भइसकेको र सय रोपनीमध्ये हाललाई करीब ४० रोपनी जग्गालाई सम्याएर चारैतिर नाली बनाउने काम शुरु गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । नाली निर्माणको काम सकिएपछि सम्याइएको जग्गामा ग््रयाबल गरिने उहाँले बताउनुभयो । यसका लागि नगरपालिकाले यस बर्ष १० लाख रुपैयाँ बजेट दिएको छ । आगमी फागुनसम्म त्यस क्षेत्रमा सञ्चालन हुने बसहरुलाई बसपार्कमा ब्यवस्थित रुपले राख्ने ब्यवस्था मिलाउने घिमिरेको भनाइ छ ।
मध्य नेपालमा अहिलेसम्म बसपार्क थिएन । भोर्लेटार, रामबजारमा बस चल्न थालेको दुई दशक भए पनि बसपार्कको अभावमा अहिलेसम्म बसहरु सडकमा पार्किङ गर्नुपर्ने अवस्था छ । सडकमा बस राखिँदा दुर्घटनाको सम्भावना रहने, सवारी साधनहरुमा तोडफोड हुन सक्ने स्थानीय ब्यापार ब्यवसायलाई समेत असर गर्ने भएकाले बसपार्क बनाउनु पर्ने आवाज धेरै पहिलेदेखि उठ्दै आएको थियो । तर कहाँ बनाउने भन्ने विषयमा अन्यौल रहेका बेला नगरपालिकाले सो सार्वजनिक जग्गामा बसपार्क निर्माण गर्ने अभियान शुरु गरेको हो ।
बसपार्क निर्माणका लागि झण्डै एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हाललाई बसहरु राख्न सक्ने गरी ब्यवस्था मिलाइने छ । विस्तारै योजनाबद्ध ढंगले बसपार्कलाई ब्यवस्थित गर्दै लगिने नगरप्रमुख रमेश कुमार पाण्डेले जानकारी दिनुभयो ।
अहिले भोर्लेटार बजारमा साना ठूला गरी दैनिक दर्जनौं बस, माइक्रोबस, तथा ट्रक र टिपरहरु सञ्चालन हुने गरेका छन् । राजधानी काठमाण्डौं देखि नारायणगढ, पोखरा, बेसीशहर, दमौली लगायतका स्थानमा दैनिक सवारी सञ्चालन हुने गरेको छ । यसबाहेक स्थानीय रुटमा चल्ने बसहरु र भोर्लेटार हुँदै विभिन्न ग्रामीण सडकमा पनि उत्तिकै संख्यामा बसहरु चल्ने गरेका छन् । बसपार्कको अभावमा सवारी साधनहरु सडक किनारामा राख्ने गरिएको छ ।
लमजुङ सदरमुकाम बेसीशहरमा दुई दुईवटा बसपार्क रहेका छन् । दुवै बसपार्क प्रयोगमा आए पनि ब्यवस्थित बन्न सकेका छैनन । बसपार्कको निर्माण भए पनि बसहरु सडकमा पार्किङ गर्ने क्रम अझै रोकिएको छैन । नगरपालिका र ट्राफिक प्रहरीले समेत बसहरु बसपार्कमै राख्न कडाइ गर्न नसकेका कारण समस्या ज्यूँका त्यूँ छ ।