हिंसापिडित महिलाले न्याय नपाएको राइनासका महिलाहरूको गुनासो

लमजुङ २२  माघ
घरपरिवार र कार्यस्थलमा महिलाहरू हिंसाको सिकार हुँदै आएका लमजुङमा आयोजित एक कार्यक्रमका सहभागी महिलाले बताएका छन् ।
हिंसा उन्मूलनका लागि जतिसुकै अभियान चलाइए पनि र कानुनी प्रावधान राखिए पनि यस्ता घटना बढ्दै गएका र पीडितले न्याय पनि पाउन नसकेको गुनासो कार्यक्रममा गरिएको छ । राइनास नगरपालिकाले आयोजना गरेको न्यायिक साक्षरता कार्यक्रममा महिलाहरुले यस्तो गुनासो गरेका हुन् ।
न्याय दिनेहरूले लाभको आशा राखेर कानुनको व्याख्या गर्ने प्रवृत्ति रहेसम्म वास्तविक पीडितले न्याय पाउन नसक्ने राइनास नगर कार्य पालिकाका सदस्य भगवती कडेंलको बुझाइ छ । उहाँ भन्नुहुन्छ “न्याय दिनेहरूले लाभको आशा नत्यागेसम्म पीडितले न्यायका लागि रोएर भौतारिँदै हिँड्नुपर्नेछ भने पीडकहरू पीडितकै सामु निर्भयपूर्वक हाँसी–हाँसी हिँड्नेछन् ।”
कार्यक्रममा घरेलु हिंसा, बहुविवाह र महिला हिंसाका पिडित महिलाले न्याय नपाएको गुनासो गरेका थिए । पिडित महिलाहरु आर्थिक र सामाजिक समस्याका कारण न्यायका लागि अदालत सम्म पुग्न नसकेको गुनासो गरेका थिए ।
स्थानीय नानुमायाँ पराजुलीले हिंसामा परेका महिलाले कसरी न्याय पाउने भन्ने विषयमा अझै पनि ग्रामीण भेगका महिलाहरु अनविज्ञ रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “ समाजमा अझै पनि हिंसापिडित महिला खुलेर आउन सकेका छैनन् र अझै महिलाहिंसाका घटनालाई गाउँघरमा नै मिलाइने कारण पीडितले समेत उन्मुक्ति पाइरहेका छन् ।”
कार्यक्रममा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले न्यायपालिका प्रति सर्वसाधरणको बुझाई र आम धारणामा परिवर्तन ल्याउन ग्रामीण क्षेत्रमा कानुनी सचेतना कार्यक्रम गरीएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो –“न्यायधिशले मुख खोल्नै हुन्न, सर्वसाधारण वा सेवाग्राही विच आउनु हुन्न जस्ता पुराना मान्यताबाट हामी उठ्नु जरुरी छ, र अदालत, यसका काम कारवाही, प्रकृया र अवधिजस्ता विषयमा सेवाग्राहीलाई यथेष्ट जानकारी गराएमा न्यायक्षेत्र थप प्रभावकारी बन्न सक्छ । न्याय सम्पादन कार्यमा छिटो छरितो ,गुणस्तरीय र सर्वसुलभ बनाउने कार्यमा सर्वसाधरण नागरिकको सहयोग हुन आवश्यक छ ।”
न्याधिश आचर्यले अदालतको कामकारवाही, यसका प्रकृया, न्यायसम्पादन र त्यसभित्रका समस्या, न्यायमा सहज पहुँचको वातावरण सृजना, न्याय सम्पादनमा नागरिकसँगको सहकार्य, उनीहरुमा न्यायपालिका प्रतिको जनआस्था लगायतको बारेमा कार्यक्रममा जानकारी गराउनुभएको थियो ।
राइनस नगरपालिका न्यायिक समितीका संयोजक एवम् नगरपालिकाका उपमेयर धनकुमारी गुरुङले कार्यक्रमबाट महिलाहरुले आफ्ना समस्या भन्ने र आवश्यक परेमा कानुनी प्रक्रिया अवलम्बन गर्र्ने बानीको विकास हुने आशा राखिएको बताउनुभयो । कार्यक्रम पश्चात् महिलाहरु खुलेरै आफ्ना समस्या भन्न सक्नेछन् भन्ने आशा गरेका छौं– उहाँले भन्नुभयो ।
कार्यक्रम राइनस नगरपालिका न्यायिक समितीको आयोजना र जिल्ला अदालत कार्यालय लमजुङको सहजीकरणमा सञ्चालन भएको थियो । शुक्रबारदेखि शुरु भएको कार्यक्रम आइतबार सम्पन्न हुने छ । कार्यक्रममा राइनास नगरपालिकाका विभिन्न वडाका २० जना महिला सदस्य र १० जना आमासमुहका अध्यक्ष गरी ३० जनाको सहभागिता छ ।