देशले खोजेको कांग्रेस

गगन थापा

दोस्रो संविधानसभाको निर्वाचनमा मत माग्दा नेपाली कांग्रेसले ‘आफ्नो संविधान आफैं लेख्ने’ जनताको ७ दशक लामो सपनालाई पूरा गरेरै छाड्ने वाचा गरेको थियो । परस्पर विरोधी सिद्धान्त र रणनीति लिएर संविधानसभा छिरेका चर्का प्रतिस्पर्धी शक्तिबीच समन्वय गर्दै कांग्रेसले लोकतान्त्रिक संविधान निर्माणको नेतृत्व गरेर त्यो वाचा पूरा गरेको छ ।

हाम्रो संविधानले सबैका सबै मनोकामनालाई पूरा गरेको छैन होला, तर भविष्यका आवश्यकताको सम्बोधन र आउन सक्ने द्वन्द्वको समाधान यही व्यवस्थाबाटै हुनसक्ने बन्दोबस्त मिलाएर लोकतन्त्रको विकल्प खोज्ने सबै बाटालाई बन्द गरिदिएको छ ।

संविधान लेखनसँगै कांग्रेसको एउटै कार्यभार थियो– यो संविधानलाई जसरी पनि कार्यान्वयनमा लगेर सफल पार्नु । त्यसका लागि निर्वाचनमार्फत सबै तहको संरचना तयार गरेर नेपाललाई लोकतान्त्रिक राजनीतिको सुरक्षित र सर्वस्वीकृत मार्गमा कांग्रेसले नै पुर्‍याएको छ ।
‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ भन्ने मन्त्र बोकेर निर्वाचनमा होमिएको पार्टीले चुनाव हारेको, तर विद्वेष र उत्तेजनालाई सत्ता प्राप्तिको हतियार बनाएको शक्तिले जितेको भए पनि मुलुकका यावत् विविधतालाई जोडेर सबै नेपालीका लागि स्वतन्त्रता, समान अवसर र साझा समृद्धि सिर्जना गर्ने हाम्रो मध्यमार्गी विचार नै अबको नेपालको मूल बाटोको रूपमा स्थापित भएको छ ।
सारांशमा, कांग्रेसले तत्कालका सबै जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्दै देशलाई दलविहीन निरंकुश तानाशाहीदेखि उग्रवामपन्थी अधिनायकवादको अभ्यास गर्ने प्रयत्नहरूको माझबाट अन्तत: लोकतन्त्रवादको त्यही वैचारिक मार्गमा फर्काएको छ, जुन पार्टीका दूरदर्शी अग्रजहरूले स्थापनाकालमै देखाएका थिए ।
यसरी पार्टीले अँगालेको सिद्धान्तले चौतर्फी सफलता हासिल गरेकोमा गर्व गर्दागर्दै पनि संघीयताको पहिलोखुट्किलो चढ्दै गर्दा आयोजित तीनै तहको निर्वाचनमा भएको पराजयको असर भने हामीले उपेक्षा गर्नै नसक्नेगरी व्यापक छ । र यसले पार्टीमा त्यति नै व्यापक सुधारको माग गर्छ । कांग्रेसको राजनीतिले जित्दै गर्दा चुनाव किन जितिएन ? के हामीले विचार र निर्वाचन दुवैमा विजयी हुने प्रयास गरेका थिएनौं र ? नेपाली कांग्रेसको आगामी महासमिति बैठकले सामना गर्नुपर्ने यस्ता अनेकन प्रश्न र पार्टीलाई पुनर्जीवन दिन केन्द्रित हुनुपर्ने सुधारका एजेन्डामा आधारित रहेर यो लेख तयार गरिएको छ ।
पराजयको समीक्षा
हालै सम्पन्न निर्वाचनमा भूगोल, संख्या र लोकप्रिय मत सबै हिसाबले हामी पराजित भएका छौं । हाम्रो गढझैं मानिएको सुदूर पश्चिममा जम्मा एक सिट जितेको कांग्रेसले उपत्यका बाहेक सिङ्गो पहाडमै प्रत्यक्षमा केवल दुई सिट जितेको छ । यस अघि उपत्यकामा १५ मध्ये १२ सिट जितेको पार्टी अहिले ४ सिटमा खुम्चिएको छ । यसका लागि कम्युनिष्ट गठबन्धन त देखाउन सकिएला, तर तिनको उल्लेखनीय प्रभाव नभएको मधेसमा पनि पार्टीको प्रदर्शन दयनीय रह्यो । हामी हिमाल, पहाड, मधेस सबै ठाउँमा हारेका छौं । सातै प्रदेशका सरकार कांग्रेसको सहभागिता बिनै बन्नेछन् । मुलुकले संघीयताको पहिलो पाइला टेक्दै गर्दा सन्तुलन मिलाइदिने नेतृत्वदायी भूमिकाबाट बञ्चित भएको छ, कांग्रेस ।
कम्युनिष्ट पार्टीहरू सिट बाँडफाँड गरेर निर्वाचन लड्दै गर्दा समानुपातिकमा कांग्रेसको मत वृद्धि हुनुपर्ने हो । तर पार्टीले समानुपातिकमा समेत एमालेभन्दा कम मत ल्यायो । माओवादी केन्द्र र एमालेको एकता हुने भएपछि तिनको समानुपातिक मत पनि जोडेरै तुलना गर्दा त कांग्रेसको स्थिति झनै विकराल देखिन्छ ।
निर्वाचन त हामीले २०६४ सालमा पनि हारेका हौं । तर त्यसबेला देशैभरि कांग्रेसजनमा माओवादीले हिंसा र धाकधम्की प्रयोग गरेर जितेको भन्नेमा ठूलो आक्रोश र देखाएरै छाड्छौं भन्ने आत्मविश्वास थियो । त्यही सामुहिक पीडाबोध र फेरि फर्किएर आउने उत्कट चाहनाले पार्टीले एकदम चाँडो पुनर्जीवन प्राप्त गर्‍यो । यस पटक धेरै कांग्रेसजनमा त्यो आवेश र जाँगर देखिँदैन, कमजोर आत्मबल र नेतृत्वप्रति गहिरो असन्तोष छ । पार्टीका कार्यकर्ताको हताशासँगै मतदाताको पनि मोहभंग भएको छ । आजकै सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको ढर्रा कायम राखेर कांग्रेसको उत्थान हुँदैन भन्ने भावना प्रबल छ । त्यसैले पार्टीका लागि कुनै निर्वाचन हार्नुभन्दा पनि त्यसले कार्यकर्ता र आम मतदाताको आत्मविश्वास र मनोदशामा पारेको असर ज्यादा घातक हुनेरहेछ ।
यति व्यापक हारको कुनै एउटामात्र कारण अवश्य हुँदैन । निकट विगतका केही घटनामात्र होइन, बितेका केही दशकको खण्ड–खण्डका घटनाहरूको प्रभावबारे केन्द्रीय कार्यसमितिभित्र र बाहिर सुरु भएको प्रारम्भिक छलफलमा अनेकन कोणबाट कैयन प्रश्न उठेका छन् ।
२०१५ सालमा मुलुकमा कम्युनिष्टहरूको मत जम्मा १७ प्रतिशत थियो । २०४८ मा ३४ प्रतिशत हुँदै २०७४ सम्म आइपुग्दा तिनको मतप्रतिशत ४८ पुग्यो । संसारभर खुम्चिँदै गएका कम्युनिष्टहरूको यस्तो बढोत्तरी तिनको क्षमताले भएको हो वा हाम्रो कार्यक्रमको विफलताले भन्ने प्रश्न उठ्छ नै । उता कांग्रेसको बलियो पकड भएको ठानिएको मधेसमा जनताको पहिलो रोजाइ किन मधेस केन्द्रित दल भए ? किन सहरी क्षेत्रका नयाँ मतदाताले अरू विकल्पतर्फ नजर लगाइरहेका छन् ?
आफू पछिका दुई ठूला पार्टी मिलेर चुनाव उठेकाले ‘पहिलो हुने निर्वाचित हुने’ प्रतिस्पर्धाको अंकगणितमा हामी पछाडि परेको प्रस्ट छ । तर यो पनि उत्तिकै प्रस्ट छ कि भरतपुरमा आफ्ना कार्यकर्तालाई अपमानको भारी बोकाउँदै हँसिया–हथौडामा मत हाल्न बाध्य पारुन्जेल पनि हामीले माओवादी केन्द्रको भित्री योजना बुझ्न सकेनौं । ऊ हामीलाई छक्क पार्दै एमालेसँग मिल्न जानु हाम्रा रणनीतिकारहरूको विफलता होइन र ?
पराजयको अर्को मुख्य कारण पार्टीभित्र मौलाएको अन्तरघातको विकृति पनि हो र यो संस्कार २०४८ बाटै सुरु भएको हो । गुटहरूका कारण संगठन आन्तरिक कलहले ग्रस्त छ र ‘कांग्रेसलाई कांग्रेसले मात्र हराउन सक्छ’ भन्ने लोकोक्तिले पार्टीलाई गिज्याइरहेको छ । डरलाग्दो अन्तरघातको यस्तो निरन्तरताले प्रश्न उठाउँछ– के हामीले एउटा सिङ्गो पार्टीको रूपमा चुनाव उठ्ने क्षमता नै गुमाइसकेको हो ?
यो पराजयमा पार्टी परिचालन गर्ने जिम्मा पाएका केन्द्रदेखि वडा इकाइसम्म सबै दोषी छन् भन्ने आरोप न्यायोचित छैन । सरकारको साझेदार मुख्य प्रतिस्पर्धीसँग मिल्न जाँदा चालै नपाउने, कम्युनिष्ट गठबन्धनसँग लड्न बनाएको विचित्रको गठबन्धनले विभिन्न ठाउँमा उनीहरूसँगै घोषित/अघोषित तालमेल गर्दा रोक्न नसक्ने, तल्ला समितिहरूको सुझावलाई लत्याउँदै उम्मेदवार चयन गर्दा विवेक नपुर्‍याएका कारण कम्तीमा २० सिट गुमाउने, विधानले निर्देशन गरेका पदाधिकारी र समितिहरू अपूर्ण राख्ने तर विधान विपरीत समितिहरू आफूखुसी गठन गर्ने, पार्टीका साथीहरूलाई हेप्ने लगायतका कर्मको मुख्य जिम्मेवार नेताको सानो कोटरीको तुलनामा निर्णय प्रक्रियामा कुनै भूमिका नभएका तलका समितिहरूको पनि उत्तिकै दोष देखाउनु तर्कसंगत कसरी हुनसक्छ ?
भारतद्वारा लगाइएको अमानवीय नाकाबन्दीको समयमा पार्टीको आश्चर्यजनक मौनता र सरकारको प्रभावकारी प्रदर्शनको व्यग्र प्रतीक्षामा बसेका जनतालाई निराश बनाउनेगरी चुनावका मुखैमा गरिएका एकपछि अर्का ‘दुस्साहसी’ शासकीय कर्महरूले पार्टीको छवि बिग्रिएको थियो । त्यसले कांग्रेसको नेतृत्वमा समयभित्र लोकतान्त्रिक संविधान बनेको र निर्वाचन सम्पन्न गरेको जश लिन नसक्नेगरी हामीलाई कमजोर बनाइदियो । त्यसमाथि त्यही नेतृत्व नै फेरि प्रधानमन्त्री हुने कल्पनाले कति मतदातालाई उत्साहित बनायो होला, विचारणीय छ ।
आगामी केन्द्रीय समितिको बैठकमा यी लगायतका विषयमा समीक्षा गर्दै महासमितिको बैठकबाट
आवश्यक सुधारको कार्ययोजना तयार गर्ने काममाहामी लाग्नेछौं नै । ढाकछोप गरेर केही नेतालाई जोगाउने वा टालटुल गरेर पार्टीमा सुधारको बाटो रोक्न खोज्नेप्रवृत्ति आखिर पार्टीकै निम्ति घातक हुन्छ भन्ने दायित्वबोध गरौं । जनताले निर्वाचनमार्फत कांग्रेससँग उत्तर खोजेजस्तै प्रत्येक कांग्रेसजनले नेतृत्वसँग जिज्ञासा राख्न पाउनुपर्छ र जवाफ माग्नुपर्छ ।
आगामी महासमिति बैठकले निर्वाचनको पराजयको समीक्षामा मात्र सीमित नरही पछिल्लो जनादेशले निराश कार्यकर्ता पङ्क्तिमा आत्मविश्वास भर्ने र पार्टीप्रति मोहभंग भएको आम मतदाताको भरोसालाई पुन:स्थापित गर्नेगरी अलमलिएको पार्टीलाई दिशानिर्देश गर्नु पर्नेछ ।
सिद्धान्तको पुनव्र्याख्या
अब पार्टीको नवीन ध्येय तय हुनुपर्छ । जननायक बीपी कोइरालाले पार्टीको ध्येयबारे लेख्नुभएको थियो, ‘हामी जनतालाई सुख, समृद्धि दिन चाहन्छौं र यसका लागि प्रजातन्त्रभन्दा अर्को बाटो नभएकोले प्रजातन्त्र स्थापना गर्न चाहन्छौं ।’ यसरी पार्टी स्थापनादेखि अहिलेसम्म जनताले चाहेको उत्तरदायी प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गरेर त्यसै अनुरूप देशलाई अगाडि बढाउने नै हाम्रो ध्येय रह्यो । नयाँ संविधानले यसलाई अनुमोदन गरेको मात्र होइन, सबै थरीका कम्युनिष्टदेखि राजावादीसम्मले यही व्यवस्थाको निर्विकल्पतालाई स्वीकार गरिसकेपछि हाम्रो स्थापनाकालीन मिसन पूरा भयो र योसँगै नेपाली राजनीतिमा एउटा युग टुङ्गियो ।
संविधान कार्यन्वयनसँगै आरम्भ भएको नयाँ युगमा अब कांग्रेसको मिसन के हो ?
सबैको बराबर अधिकारको संवैधानिक जगमा टेकेर शान्ति, सद्भाव र एकतालाई व्यवहारमा अनुवाद गर्ने र तिनका विरुद्ध उठ्ने अतिवादलाई परास्त गर्ने संकल्प गर्दै सबै नेपालीको सहभागितामा देशलाई निश्चित समयभित्र कम्तीमा पनि अति कम विकसित राष्ट्रको समूहबाट माथि उठाइ समान, सुखी र खुसी नेपाली भएको समुन्नत देश बनाइछाड्ने नै अब पार्टीको ध्येय हुनसक्छ ।
जसरी स्थापनाकालदेखि प्रजातन्त्र स्थापना गर्ने पार्टीको मिसनले सबैलाई बाँधेको थियो, त्यसरी नै यो नयाँ मिसनलाई सिंगो पार्टी पङ्क्तिको कसरी बनाउने ? यो ध्येय प्राप्तिका लागि हामीसँग सैद्धान्तिक हतियार के छ ? राष्ट्रियता, लोकतन्त्र र समाजवादको अवधारणा स्थिर रहिरहेको छ कि तिनमा समय र समाजको प्रभावले परिवर्तन भइरहेको छ ? पार्टीको नवीन ध्येय पूरा गर्ने सिद्धान्तको नयाँ व्याख्या के हो ?
राष्ट्रियताको परम्परागत भौगोलिक परिभाषामा जनतालाई जोड्दै बीपीले भन्नुभएको थियो, ‘जनता, जनताको अगाडि उपस्थित समस्या, त्यस समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै राष्ट्रियताका तत्त्व हुन् ।’ तर अब ‘विविधताभित्रको एकता र एकतामा अन्तरनिहित विविधता’को संवैधानिक अन्तरवस्तुलाई सम्बोधन गर्नेगरी जनता शब्दको विराटतालाई आत्मसात गर्ने राष्ट्रियताको हाम्रो नयाँ परिभाषा के हो ? हाम्रो राष्ट्रियताको परिभाषामा राष्ट्रिय आत्मसम्मान र मित्रवत सम्बन्धको सीमारेखा के हुन्छ ? त्यसमा राष्ट्रहित र बाह्य सम्बन्धका विशिष्टताले कस्तो स्थान पाउँछ ?
हाम्रो सिद्धान्तको प्रजातन्त्र अहिले लोकतन्त्र भएको छ । यो फगत शब्दको अन्तरमात्र हो वा समय, सन्दर्भ र परिस्थितिमा व्यापक परिवर्तन हुँदै जाँदा प्रजान्तन्त्रको अवधारणा पनि गतिशील समाजको संघर्ष, अनुभव,अपेक्षा र आवश्यकता अनुसार झन् उदार रस्थानीयकृत हुँदै गएको हो ? परिवर्तनका आन्दोलनहरूसँगै प्रजातन्त्रबाट लोकतन्त्र बन्ने प्रक्रियामा विश्वव्यापी सर्वस्वीकृत मान्यताहरूसँगै थपिएका विशिष्टता के हुन्, जसले यो लोकतन्त्रलाई हिजोको प्रजातन्त्रभन्दा गुणात्मक रूपले भिन्न बनाएको छ ? यसको सामाजिक र सांस्कृतिक पक्ष के हुन् ?
समाजवाद हाम्रो सिद्धान्त हो । तर हाम्रै बुझाइमा त्यसको स्वरूप र सीमा अझै अमूर्त छ । फलस्वरूप कांग्रेसको आर्थिक मोडलले समाजवादलाई उपेक्षा गरेको थुप्रै गुनासा सुनिन्छ, तर कस्तो समाजवादी आर्थिकमोडल लागू हुनुपथ्र्याे भन्ने विषयमा धेरै गहकिलाप्रस्ताव आउने गरेका छैनन् । नयाँ संविधानले ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण’ गर्ने लक्ष्य निर्धारण गरिदिएको हुँदाअब विश्व इतिहासबाट शिक्षा लिँदै हाम्रो अनुकूलताको समाजवादी मोडल हामी आफैंले आविष्कार गर्नुपर्नेचुनौती आएको छ ।
जुन सोचसाथ समाजवादलाई पार्टीको सिद्धान्त बनाइयो, के बदलिँदै गरेको समय अनुसार समाजवादको त्यो मान्यतामा बदलाव आएको छैन होला ? पार्टीले नेपालभित्र र बाहिरको परिवर्तित सन्दर्भ र नयाँ संविधानको मर्म अनुकूल समृद्धिलाई परिभाषित गर्दै त्यसको प्राप्तिका लागि नेपाल हिँड्ने समाजवादी बाटो यो हो भनी कसरी स्थापित गराउने ? थुप्रै रंगरूपका माक्र्सवादी दलहरू पनि ‘समाजवाद’ निर्माणमै केन्द्रित रहेकाले कांग्रेसले आफ्नो अलमलबाट मुक्त भई नयाँ संविधानले इंगित गरेको समाजवादलाई परिभाषित गर्न गम्भीर पहल गरेन भने देश फेरि पनि कम्युनिष्ट अतिवादको सिकार हुनेछ ।
यसरी सिद्धान्तको पुनव्र्याख्या गरेपछि त्यसकै आलोकबाट हेर्दा नेपाली समाज र राज्यका अन्य मुद्दाहरू के–के हुन् ? सिद्धान्तबाट नि:सृत कार्यक्रम के हुन् ? यो बुझाइले मात्र नेपाली कम्युनिष्टभन्दा हामी कहाँ, किन र कसरी फरकछौं भन्ने स्पष्ट हुन्छ र जनतालाई पनि बुझाउनसकिनेछ । यद्यपि पार्टीको नवीन ध्येय र त्यसलाई पूरा गर्ने सिद्धान्तको पुनव्र्याख्या गरिसकेपछि पनि केही प्रश्न अझै अनुत्तरित रहन्छन् ।
माओवादीसँगको सहकार्यमा गरिएको ०६२/६३ को आन्दोलन, त्यही आन्दोलनको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, संविधानको अन्तरवस्तु र निर्माण प्रक्रिया, मधेसले माग गरिरहेको संशोधन आदिबारे आज पनि पार्टीमा मतैक्यता पाइँदैन । उदाहरणका लागि संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व जस्ता मान्यतालाई कसैले थोपरिदिएको मानिरहने हो भने यिनै मान्यतामा आधारित संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले कसरी गर्न सक्छ ? हामी मतभिन्नतालाई लुकाएर आरोप/प्रत्यारोमा अलमलिरहनेकि एकपटक खुला छलफल गरी मतैक्यता बनाएर अगाडि बढ्ने ?
के पार्टी फगत राजनीतिक संगठनमात्र हो, जसलाई आफ्ना कार्यक्रम लागू गर्न निर्वाचनबाट प्राप्त सत्ताको कुर्सी नै चाहिन्छ ? निश्चय नै त्यसो होइन । पार्टी आफ्नै शक्तिमा सञ्चालित हुनसक्ने सामाजिक आन्दोलन पनि हो । आगामी ५ वर्ष पार्टीले नेतृत्व गर्नैपर्ने सामाजिक आन्दोलनका मुद्दाहरू के हुन् ? त्यसको नेतृत्व हामीले कसरी गर्छौं ?
नेपालले आफ्ना छिमेकीहरूसँग राख्नुपर्ने सम्बन्धबारे कांग्रेसको धारणा के हो ? यथास्थितिको निरन्तरता असम्भव छ, किनकि अब भारत र चीन दुवै हिजोजस्ता रहेनन् र ती दुई बीचको आफ्नै सम्बन्ध पनि बदलिएको छ ।
त्यसैले हाम्रो दृष्टिकोण पनि बदलिनुपर्छ । भारतीय नाकाबन्दीबारे कांग्रेस पार्टीको मौनता निर्वाचनमा निकै महँंगो सावित भयो वा विपक्षीले हतियार बनायो भनेर मात्र होइन, राष्ट्रिय स्वाभिमानका दृष्टिले समेत लज्जाजनक थियो भन्नेमा म हिजोझैं आज पनि दृढ छु । यसमा पार्टीले आत्मालोचित भएर आफ्ना धारणा प्रस्ट पार्दै अगाडि बढ्नुपर्छ कि पर्दैन ?
तर हाम्रो घरेलु राजनीतिमा कुनै एक देशको हस्तक्षेपमात्र बर्जित र बाँकी सबैका सबै क्रियाकलाप स्वागतयोग्यहुने जसरी जुन अर्को अतिवाद सिर्जना हुँदैछ, पार्टीलेत्यसको पनि सशक्त प्रतिवाद कसरी गर्ने ? नेपालकोघरेलु राजनीतिमा कसैलाई पनि चलखेल गर्न नदिनेकसरी बनाउने ?
विगतमा कांग्रेस सबैभन्दा कमजोर देखिएको सरकार सञ्चालनमा हो । अब ७ प्रदेश र केन्द्रमा प्रतिपक्षमा
रहँदा अधिकांश उठाउनुपर्ने मुद्दा पनि शासन सञ्चालनसँग सम्बन्धित नै हुनेछन् । तर हाम्रो आफ्नै इतिहासले सरकारको गलत शासनको प्रतिरोध गर्ने कति बलियो जनाधार उपलब्ध गराउला ? हामीले आफूलाईसच्याइसकेको अनुभूति नदिलाई जनताले हामीलाई कति साथ देलान् ? स्थानीय सरकारमा रहेर प्रभावकारी जनपक्षीय कामले त्यो अनुभूति दिलाउन पार्टी पंक्तिलाई कसरी अभिप्रेरित गर्ने ?
संगठनको पुनर्निर्माण
पार्टीको आत्मा अर्थात आदर्श, सिद्धान्त र कार्यक्रमको नयाँ व्याख्यासँगै त्यो आत्मालाई बोकेर हिँड्न सक्ने शरीर अर्थात पार्टीको संगठनको पुनर्गठन स्वत: महासमितिको अर्को विशिष्ट एजेन्डा हुनुपर्छ । देश संघीयतासँगै समृद्धि निर्माणको अर्को चरणमा प्रवेश गरेको अवस्थामा संघर्षकालका लागि निर्माण गरिएको हाम्रो सांगठनिक संरचना कति सान्दर्भिक होला ?
संघर्षकालमा ग्रामीण नेपालको वस्तुस्थिति अनुकूल हुनेगरी बनाइएको कांग्रेसको संगठन अहिलेको बढ्दो सहरीकरण र राष्ट्रिय–अन्तर्राष्ट्रिय आप्रवासनको युगमा यत्रो सामाजिक र आर्थिक आधार फेरिइसक्दा पनि उस्तै रहनु कति सान्दर्भिक छ ? सीमान्तकृत समूहको पहिचान, समावेशीकरण र सशक्तीकरणको आकांक्षा, सांस्कृतिक, जातीय र लैंगिक नवचेतना अनि यो सबैको संवैधानिक सम्बोधन भएको अवस्थामा पार्टीको पुनर्संरचना र कार्यशैलीमा व्यापक परिवर्तन अपेक्षित छ कि छैन ?
एकातर्फ पार्टीलाई जीवन समर्पित गरेका पुराना साथीको आकांक्षाको सम्मान हुनुपर्छ भने अर्कातर्फ युवा जनसंख्यालाई आकर्षित नगरी पार्टीले नवजीवन प्राप्त गर्न नसक्ने परिस्थिति पनि छ । नयाँ सदस्य थप्ने र तिनको उचित व्यवस्थापन गर्ने चुनौतीलाई कसरी सामना गर्ने ? ‘नेतृत्वले आफूलाई चुनेर माथि पठाउने क्रियाशील सदस्यलाई तल आफैंले छान्छ’ भनेर पार्टीको क्रियाशील सदस्यता प्रणालीकै बारेमा यत्रो प्रश्न उठेका बेला दुईथरी सदस्यता खारेज गरेर आम सदस्यहरूबाटै नेतृत्व चयन गर्ने कि ?
राज्यका संस्था र निकायहरूको पार्टीकरण गरेर कब्जा गर्ने विपक्षीको तरिकासँग प्रतिस्पर्धा गर्ने कि त्यस्ता संस्था, निकायलाई पार्टीको प्रभावबाट मुक्त बनाउँदै लोकतन्त्रलाई सुदृढ गर्नेतिर लाग्ने ?
पार्टी सञ्चालनमा आन्तरिक लोकतन्त्रलाई चरम उपेक्षा गर्दै तलका इकाइहरूको के कुरा केन्द्रीय समितिको अधिकारलाई समेत ‘शीर्ष र प्रभावशाली’ नेतागणको गुटमा केन्द्रित गरिएकोले संगठनमा लगातार ‘ठालुतन्त्र’ हावी हुँदै गएको छ । त्यसको नियन्त्रण कसरी गर्ने ? पार्टीमा आन्तरिक लोकतन्त्रको संस्कृतिलाई निषेध गर्दा कार्यकर्तालाई संगठित होइन परिचालनमात्र गर्ने, उत्प्रेरित होइन गुट अनुकूल उपयोगमात्र गर्ने परिपाटीका कारण क्रमश: निस्तेज हुँदै गएको पार्टीको सामाजिक आन्दोलनको भावनालाई कसरी पुनर्जागृत गर्ने ? पार्टीभित्र मौलाएको अन्तरघातको रोगलाई कसरी निर्मूल गर्ने ? कथित विशिष्ट परिस्थितिको मागको नाममा पार्टी विधानमा गरिँदै आएको खेलवाडलाई स्वत: अनुमोदन गरेर दण्डहीनतालाई प्रोत्साहन गरिरहने कि मुलुकको संवैधानिक व्यवस्थासँग संगतिपूर्ण हुनेगरी
विधान संशोधन गर्ने ? सरकारको सञ्चालन बेठिक हुँदा पार्टीले मूल्य चुकाउने, तर सरकारसँग पार्टीले कस्तो सम्बन्ध राख्ने ?
समग्रमा नयाँ युगको लागि तय गरिएको नयाँ एजेन्डालाई बोकेर हिँड्न सक्ने संगठनको खाका कोर्न आसन्न महासमितिको बैठकमा यी जटिल प्रश्नहरू उठाउँदै गर्दा हामीमाथि प्रतिप्रश्न हुनेछ– तिमीहरूसँग पनि त सवाल मात्र छ, जवाफ खोइ ? यिनै विषयमा केन्द्रित भएर म, गुरुराज घिमिरे र प्रदिप पौडेलले पार्टीको पछिल्लो महाधिवेशनमा ‘सिद्धान्तको पुनव्र्याख्या र संगठनको पुनर्निर्माण’
शीर्षकको संयुक्त दस्तावेजमार्फत नयाँ विचार प्रस्तुत गर्ने जमर्को गरेका थियौं । नेतृत्व चयनको चटारो र नयाँ विचारलाई ग्रहण गराउन ठूलै संघर्ष गर्नुपर्ने पार्टीमा स्थापित परम्पराका कारण हाम्रो प्रयास महाधिवेशनको प्राथमिकतामा परेन । नयाँ सन्दर्भमा अझ परिमार्जित विचार र प्रस्तावसहित हामी आउँदैछौं र अरू साथीहरूलाई पनि निर्धक्क आफ्ना धारणा राख्न आह्वान गर्छौं । सबैको संयुक्त प्रयासमा एउटा मार्गदर्शन गर्ने दस्तावेज लिएर महासमिति हुँदै शीघ्र महाधिवेशनमा जानुपर्छ भन्ने हाम्रो धारणा छ ।
नेतृत्वको प्रश्न
एउटा पार्टीको सिद्धान्त आत्मा, संगठन शरीर हो भने नेतृत्व सायद मस्तिष्क हो । नेतृत्वको चयन उमेरको आधारमा होइन, एजेन्डाको आधारमा हुनुपर्छ भन्नेमा त के शंका छ र † तर हामीले माथि आफ्नो ध्येय र सिद्धान्तमा प्रस्ट भएको पार्टीको चुस्त संगठनको खाका त कोर्‍यौँ, तर त्यसलाई चलाउने मस्तिष्क नै शिथिल भइसकेको छ भने अपेक्षित गतिशीलता कसरी आउँछ ? सबै किसिमका सामन्तवाद र अतिवादसँगको असंख्य संघर्षले थाकेको शीर्ष नेतृत्वलाई सत्ताको शीतल छहारीले शिथिल र यथास्थितिमै रमाउने बनाइदिएको छ । नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीजस्तो भएको छ । माथि उब्जिएका असंख्य प्रश्नबाटै त्यो प्रस्ट हुन्छ । मतदाताले समेत त्यो अनुभूत गरिसकेपछि अहिलेकै शीर्ष नेतृत्वको निरन्तरता खोज्नु जनादेशलाई नबुझ्नु हो ।
आगामी महाधिवेशनमा वर्तमान नेतृत्वमा परिवर्तन र भावी नेतृत्वको स्वरूपबारे व्यापक बहस हुने नै छ । २०४६ सालको परिवर्तनपछि निरन्तर पार्टी र देश दुवैको सत्ता र शक्तिको सान्निध्यमा रहेको कांग्रेसको पहिलो पुस्ताले त्यो महाधिवेशनबाट विश्राम लिनुपर्छ भन्नेमा अब कुनै द्विविधा छैन, हुनु हुँदैन ।
पहिलो पुस्ताका प्रति हाम्रो गहिरो आदर छ । यो त्यही पुस्ता हो, जसले सानो चिठ्ठी लेखेर राजासँग आत्मसमर्पण गर्दा ठूला चिज प्राप्त हुने पञ्चायती कालरात्रिमा जेल, नेल र त्यागको कठिन बाटो रोज्यो, ०४६ सालपछि राजाको षडयन्त्र र माओवादीको क्रूर हिंसाबाट लोकतन्त्रलाई जोगाएर ल्यायो, धार्मिक र जातीय द्वन्द्वले विखण्डनको संघारमा पुगेको देशलाई उद्धार गरेर यहाँसम्म ल्यायो ।
जुन उद्देश्यका लागि नेतृत्व निर्माण भएको हो, त्यसमा अब्बल सावित उहाँहरूको संघर्ष र बलिदानप्रति कांग्रेसजनको ठूलो श्रद्धा छ । शासकीय क्षमता र सत्ता–सञ्चालनको सवालमा भने जनताको उहाँहरूप्रति थुप्रै गुनासा छन् । स्वाभाविक छ, संघर्षका लागि बनेको नेतृत्व हरेक क्षेत्रमा प्रभावकारी नहुन पनि सक्छ ।
त्यसैले संघर्षको चरण सकिएपछि त्यसैका लागि बनेको नेतृत्वले सक्रिय राजनीतिबाट विश्राम लिएर पार्टीको संरक्षकको भूमिकामा पदोन्नति गर्न सहमत हुनुपर्छ । उहाँहरूलाई मेरो अनुरोध छ– तपाईंहरूको पुस्तालेअब कार्यकारी जिम्मेवारीमा बस्दैनौं भनेर स्वघोषित अवकाश लिनुहोस् र यसको सुरुवात संसदीय दलको निर्वाचनबाटै गर्नुहोस् ।
हरेक ५ वर्षमा आवधिक चुनाव हुने ठाउँमा राजनीतिलाई पुर्‍याएको पुरानै नेताहरूले हो । फेरि ५ वर्षपछि अर्को चुनाव आउनेछ । अगाडिका चुनावमा प्रत्येक १०० जनामध्ये ३८ जनाको मत ल्याए पुग्थ्यो, तर भविष्यमा ४८ ल्याउनुपर्छ । अर्थात् यसपाली पाएको मत जोगाएर कम्तीमा १५ लाख नयाँ र अधिकांश युवा मतदातालाई आकर्षित नगरी कांग्रेसको सरकार बन्ने छैन । पुरानो नेतृत्वसँग आम मतदाताको विश्वास जगाउने एजेन्डा र ऊर्जा छैन भन्दा वस्त्रहीन बादशाहलाई सानो बालकले ‘नयाँ लुगा’को यथार्थ बताइदिए जस्तो हुन्छ, तर सत्य त्यही हो । त्यो कठोर सत्यलाई बोध गर्दै पुरानाले सहर्ष र ससम्मान संरक्षकमा पदोन्नति लिएर नयाँका बारेमा स्वस्थ र आग्रहमुक्त बहसको अगुवाइ गर्नुहोस् भन्ने हाम्रो अनुरोध छ ।
अब हामीलाई यस्तो इमानदार नेतृत्व चाहिएको छ, जो देशर जनतालाई माया गर्छ, संविधानको सम्मान गर्छ र पार्टीको विधान र सञ्चालन देशको संविधानको मर्म विपरीत हुनुहुँदैन भन्नेमा विश्वास गर्छ, जसले कांग्रेसको गौरवशाली परम्पराको सम्मान गर्दै समुन्नत देश बनाउने पार्टीको ध्येयलाई आफ्नै जीवनको ध्येय बनाउँछ र त्यसको प्राप्तिका लागि पार्टी पंक्तिमात्र होइन, आम जनतालाई नै उत्प्रेरित गर्छ, जोसँग लोकतन्त्र, समता, सामाजिक न्यायप्रति प्रतिबद्ध रहँदै विविधताले सिँगारिएको हाम्रो समाजलाई जोडेर उज्यालो भविष्यतर्फ लैजाने उदारता, योग्यता र परिकल्पना छ ।
अन्त्यमा,
अब हामीले माथि प्रस्ताव गरिएका परिवर्तनलाई संस्थागत गर्न तत्काल केन्द्रीय समिति हुँदै महासमिति र अविलम्ब महाधिवेशनमा जानुपर्छ । कल्पना गरौं, त्यस्तो प्रयत्नले बन्ने नेपाली कांग्रेस पार्टी कस्तो होला ? हामीसँग ७० वर्षको स्वर्णिम इतिहास, प्रस्ट ध्येय र त्यसलाई प्राप्त गर्न चाहिने सिद्धान्त र कार्यक्रम, तृणमूल तहमा फैलिएको बलियो र प्रभावकारी संगठन, लामो संघर्षले खारिएका र द्वन्द्वको व्यवस्थापन गर्नसक्ने उदारता र लचकता भएका अभिभावक, अनेक अभाव र कष्टका बाबजुद मुलुक र पार्टीप्रति लोभलाग्दो निष्ठा र समर्पण भएका लाखौं कांग्रेसजन अनि जनतासँग जोडिएको र जनताले विश्वास गरेको उदार कांग्रेस हुनेछ ।
त्यो कांग्रेस फेरि जनप्रिय, संघर्षशील, प्रगतिशील र जुझारू अर्थात् आफ्नो समस्त अतितकालीन गौरवसहितको पार्टी हुनेछ । युवामाझ लोकप्रिय र २१ औं शताब्दी अनुकूलको आधुनिक राजनीतिक संगठन हुनेछ ।
यस्तो वैचारिक जागरणयुक्त र भागबन्डामुक्त गतिशील कांग्रेस पार्टीको आधारशिला खडा गर्दै महाधिवेशनसम्म लैजान सकियो भनेमात्र आगामी महासमिति बैठकको ऐतिहासिकता सिद्ध हुनेछ । यही नै आम कांग्रेसजन र देशले खोजेको कांग्रेस हो । (साभार कान्तिपुर )