लमजुङमा आगामी फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइदै

लमजुङ, माघ २५ गते
आगामी फागुन १२, १३ र १४ गते लमजुङमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ ।
२ बर्ष माथिका नागरिकलाई हात्तिपाइलेविरुद्धको औषधीको साथमा जुकाको औषधी समेत खुवाउन लागिएको हो । हात्तीपाइलेको औषधी जुकाको औषधीसंगै खुवाउँदा बढी प्रभावकारी हुने भएकाले दुवै औषधी संगै खुवाउन लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागि ४ सय १६ जना स्वास्थ्यकर्मी र १ हजार १ सय ५५ जना स्वयंसेवक खटिने कार्यालयले जनाएको छ ।
यसपटक जिल्लाका १ लाख ५८ हजार ८ सय ८४ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको जिल्ला जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाइले जानकारी दिनुभयो । गतबर्ष १ लाख २० हजार ८ सय ६ जनालाई औषधी खुवाइएको थियो । पहिलो दिन फागुन १२ गते प्रत्येक टोलको पायक पर्ने स्थानमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने साथै दोश्रो र तेश्रो दिन घरदैलो गरी औषधी खुवाउने कार्यक्रम तय गरिएको छ ।
उक्त औषधी दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो, मृगौला, फोक्सोका दीर्घरोगी साथै छारे रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका बालवालिकालाई खुवाउन नहुने चिकित्कसहरुले बताएका छन् । यस्तै, ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई राम्रोसंग स्वास्थ्य जाँच गरेरमात्रै खुवाउनुपर्ने उनीहरुको भनाई छ । हात्तीपाइले रोग विरुद्धको औषधी पूर्ण रुपमा सुरक्षित भएकाले सामान्य रिंगाटा लागेमा आत्तिहाल्न नहुने स्वास्थ्यकर्मीले बताएको छ । हात्तीपाइले रोगको लक्षण देखिन लागेका ब्यक्तिमा सामान्य रिंगाटा लाग्ने समस्या देखिने र केही नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।
हात्तीपाइले रोग लागेका ब्यक्तिमा ज्वरो आउने, लिम्फ नलीहरु सुन्निने, पुरुषमा अण्डकोष वरपरका नसाहरु फूल्ने, दुख्ने, महिलामा यौनअंग सुन्निने, खुट्टा सुन्निएर हात्तीपाइले÷फाइलेरिया हुने, पिसाव धमिलो दूधदही जस्तो वाक्लो हुने लक्षण देखा पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यसवाट बच्न लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्नुपर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।