बेसीशहर महोत्सवको तयारी अन्तिम चरणमा

बेसीशहर, माघ २६
हाम्रो नगर, राम्रो शहर, स्वच्छ, सुन्दर र सफा बेसीशहर भन्ने नाराका साथ यही माघ २९ देखि फागुन ८ सम्म चल्ने दोस्रो बेसीशहर महोत्सवको तयारी अन्तिम तरणमा पुगेको छ । उद्योग, ब्यापार, जलबिद्युत, पर्यटन, कृषिको विकास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको हो ।
लमजुङ उद्योग बाणीज्य संघ बेसीशहर इकाइले महोत्सवको आयोजना गरेको हो । महोत्सव स्थल दनाईफाँटदेखि मनाङेचौतारा, क्याम्पस रोड, प्रशासनचोक लगायतका ठाउँमा तोरणले झकिझकाउ पारिदै छ ।

महोत्सब स्थल दनाईफाँटमा अहिले स्टल निर्माण, मनोरञ्जनका विभिन्न साधनहरु निर्माण गर्ने, कम्पाउण्डिङ लगायतका कार्यहरु अन्तिम चरणमा पुगेका छन् ।
महोत्सबमा कुल २ सय स्टल रहने छन् । महोत्सवबाट बेसीशहरको बजारलाई सुरक्षित बनाउन बेसीशहर नगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने कार्यमा सघाउने, नगर क्षेत्र वरपर रहेका पर्यटकीय स्थानहरुको प्रचार प्रसार गरी समग्र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्य राखिएको छ ।
आयोजकका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारीक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीवुटी प्रदर्शनी, बिभिन्न लोक सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी गीत कार्यक्रम, बेसीशहर नगर क्षेत्र अन्तरगतका बिद्यालय स्तरीय कविता प्रतियोगिता, परम्परागत खाना उत्सव, झाँकी तथा ¥याली प्रदर्शनी, विविध मनोरन्जनात्मक कार्यक्रम, बाल उद्यान, पुष्प प्रदर्शनी, आन्तरिक पर्यटन प्याकेज टुर तथा आन्तरिक पर्यटन सुचना केन्द्र, कार्याशाला गोष्ठी तथा सरकारी तथा गैर सरकारी निकायको गतिविधि प्रदर्शनी गरिने छन् ।