अन्तराष्ट्रिय नाटक उत्सवमा भाग लिन नाटक पानीघट्टको टीम कोलकता पुग्यो

फागुन १० गते
अन्तराष्ट्रिय नाटक उत्सवमा भाग लिन पानीघट्ट नाटकको टीम भारतको कोलकता पुगेको छ । निर्देशक पुरु लम्सालको नेतृत्वमा मन्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोरासहित रंगकर्मीहरुको १८ सदस्यीय टीम कोलकता पुगेको हो ।
यही फागुन ११–१३ सम्म भारतको कोलकतामा अन्तराष्ट्रिय नाटक उत्सव हुन गैरहेको छ । नेपालको तर्फबाट नाटक पानीघट्ट प्रदर्शनका लागि छानिएको छ । यसैबीच नाटक महोत्सवमा भाग लिन कोलकता जाँदै गरेको पानीघट्टको टीमलाई भारतको सिलगुडीमा भब्य सम्मान गरिएको छ । सिलगुढीमा बसेर नेपाली साहित्यको बृद्धिविकासमा लागिपरेका साहित्यकार तथा समालोचकहरुले बुुधबार उनीहरुलाई स्वागत सम्मान गरेको हो । विगत दुई दशकदेखि नेपाली साहित्यको उत्थानमा लागेका साहित्यकार विजय रुचाल, साहित्यकार तथा समालोचक सुकराज दियाली लगायतले टोलीलाई खदा र उपहारसहित स्वागत गरेका थिए । भारतीय भूमिमा बसेर पनि नेपाली साहित्यको श्रीबृद्धिमा लागिपरेका उनीहरुले “पानीघट्ट” नाटकका लेखक÷निर्देशक एवं आदि इत्यादीका अध्यक्ष पुरु लम्साल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अशोक थापा, संस्कृतिकर्मी जयराज तिमिल्सिना, नाटकका संयोजक एवं मञ्जरी नाट्य समूहका अध्यक्ष केदार बोहोरा लगायतलाई सम्मान गरेका थिए ।
करीब १ घण्टा १० मिनेटको उक्त नाटकमा विष्णुभक्त अधिकारी, हिमाल मजाकोटी, शान्ति श्रेष्ठ, केदार बोहोरा, टीकाराम घिमिरे, नरमाया तामाङ, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, सुकबहादुर मिजार, आशिष परियार, विमला मिजार, सञ्जोग लामिछाने, बाल कलाकार विप्लव बोहोराले लगायतले अभिनय गरेका छन् ।
मञ्जरी नाट्य समूहले उक्त नाटक माघ १८, १९ र २० गते ३ दिन बेसीशहरमा मञ्चन गरेकामा लमजङका दर्शकहरुले खुबै रुचाएका थिए ।