जलविद्युत आयोजना बिरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

शान्ता कमली
लमजुङ २१ फागुन
लमजुङमा निर्माणसम्पन्न भएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी जलविद्युत आयोजनाको ट्रान्समिशन लाईनबाट प्रभावित स्थानीयले आफ्ना माग पुरा नभएको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
प्रभावितहरुको सहभागिता रहेको स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी (एफपिक) तथा अधिकार मञ्चमार्फत प्रभावितले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरुले २४ बुँदे माग सहित सँघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
जलविद्युत आयोजनाहरुले सार्वजनीक सुनुवाई नगरेको, सबै आयोजनाले प्रभावितहरुसँग स्वतन्त्र अग्रिम जानकारीसहितको मञ्जुरी नगरेको र सरकारका प्रचलित नियम कानुन र अन्तराष्ट्रिय सन्धि तथा महासन्धिको विपरित काम गरेको, स्थानीय जनताको अधिकार लुटिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजानीक गर्नुपरेको संघर्ष समितिका संयोजक खेमजंङ गुरुङले बताउनुभयो ।
आयोजनाले बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको पूर्ण पाठ सबैले बुझ्ने भाषामा जानकारी गराउनुपर्ने, आयोजनाबाट १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने, फिस ल्याडर राख्नुपर्ने माग पनि गरेका छन् । सो आयोजनाको १३२ केभि प्रशारण लाईनबाट प्रभावित बनेका उनीहरुले आफ्ना माग सम्बोधन नभए २२० केभि प्रशारण लाईन निर्माण हुन नदिने चेतावनी दिएका छन् ।
उनीहरुले आयोजना निर्माणमा स्थानीय कामदारलाई अबसर दिनुपर्ने, बस्ती आसपासमा विष्फोटक पदार्थ तथा रसायनिक पदार्थ भण्डारण गर्न नहुने, विद्युत प्रशारण लाइनको चुम्बकीय क्षेत्र भित्रको जग्गालाई लगत कट्टा गरि सतप्रतिशत क्षतिपुर्ति दिनुपर्ने माग राखेका छन् । सबै आयोजनामा डक्डरसहितको एम्बुलेन्स सेवा राख्नुपर्ने, प्रत्यक्ष प्रभावितहरुलाई तीन÷तीन महिनामा स्वास्थ्य परिक्षण गर्नुपर्ने, अति प्रभावितहरुलाई निशुल्क शेयरको ब्यस्था गर्नुपर्नेलगायतका मागहरु उनीहरुको छ ।
मागहरु पुरा नभएमा संघर्षमा उत्रने चेतावनी संघर्ष समितिले जनाएको छ ।