तुर्लुङकोटको दुरागाउँमा होमस्टे सुरु

शान्ता कमली
लमजुृङ २१ फागुन
लोपान्मुख दुरा जातीको बाहुल्यता रहेको लमजुङको तुर्लुङकोट स्थित दुरागाउँमा होमस्टे सुरु भएको छ ।सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोट गाउँका दुरा समुदायले होमस्टे सञ्चालन गरेका हुन् । सुन्दरबजारमा जारी आठौं सुन्दरबजार महोत्सवको सन्दर्भ पारेर गाउँमा होमस्टे शुरु गरिएको हो ।
दुरा जातिको हराउँदै गएकोे मौलिक कला, परम्परा, सँस्कृति संरक्षण गर्नुका साथै पर्यटन प्रवद्र्धनका कार्यक्रमबाट स्थानीयको आर्थिक जीवनस्तर उकास्ने उद्धेश्य राखेरे होमस्टे सञ्चालन गरीएको स्थानीय भुमिकर दुराले बताए । दुरा जाति नेपालको अल्पसंख्यक र लोपुन्मुख जातिभित्र पर्छ । तुर्लुङकोट गाउँमा दुराजातिको करिब ८५ घर परिवारको बसोबास छ ।
तुर्लुङकोट नजिकैको सिन्दुरेढुंगा, मकैस्वाँरा लगायतका वस्तीमा पनि दुराजातिको बाक्लो वस्ती छ । प्राकृतिक तथा सामाजिक दृष्टिले सो स्थानमा पर्यटक लक्षित कार्यक्रम गर्नु आवश्यक रहेकोले होमस्टे शुरु गरिएको वडाध्यक्ष प्रेम दुरा बताउँछन् ।
होमस्टे शुरु भएसंगै गाउँमा आउने पाहुनालाई स्थानीय कलाकारले सोरठी, चुडा, घाँटु, ठाडोभाकालगायतका गीत र नृत्यले मनोरञ्जन गराउने गरेका छन् । संस्कृति उपसमितिका संयोजक श्यामबहादुर दुराका अनुसार यसबाट पर्यटकलाई मनोरञ्जन मिल्नुका साथै संस्कृति संरक्षणमा पनि सघाउ पुगेको छ । दुरा जातिको उद्गमस्थल मानिएको सिन्दुर तुर्लुङकोटमा सञ्चालन गरिएको होमस्टेले स्थानीयको ऐतिहासिक, सांस्कृतिक पक्ष पर्यटकका लागि विल्कुलै नयाँ स्वाद बन्न थालेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ४ का सदस्य रामकुमार श्रेष्ठको भनाइ छ ।
लमजुङको तुर्लङकोट ऐतिहासिक, साँस्कृतिक एवम् धार्मिक दृष्टिकोणले महत्वपुर्ण मानिन्छ । यस ठाउँले धेरै कलाकर्मी समेत जन्माएको छ । ठाडो भाकाका प्रवर्तक देउबहादुर दुरा, भेँडीखर्के साइँला, वरिष्ठ लोकगायिका बिमाकुमारी दुराजस्ता थुप्रै कलाकर्मी जन्मेको थलो भएकाले पनि तुर्लुङकोटको छुट्टै महिमा रहेको छ ।
समुन्द्री सतहदेखि १ हजार ८ सय मिटरको उचाईमा रहेको तुर्लुङकोट गढीबाट सूर्योदय, सुर्यास्तको साथमा थुप्रै हिमऋङ्खलाहरुको प्रत्यक्ष दृष्यावलोकन गर्न सकिन्छ । तुर्लुङ गढीबाट लमजुङ, तनहुँ, गोरखा, कास्कीका विभिन्न मनमोहक ठाउँहरु पनि देखिन्छ ।
डुम्रे बेंसीसह सडकको पाउँदीबाट करिब १५ किलोमिटरको दूरीमा तुर्लुङकोट पर्छ । गाउँसम्म पुग्नका लागि सडक यातायातको पनि राम्रो ब्यवस्था छ । बेसीशहर र सुन्दरबजारबाट दैनिक बस छुट्ने भएकाले पुग्नलाई निकै सहज पनि छ ।
हाल दुरागाउँमा सुरुमा ६ घरबाट होमस्टे सुरु गरिएको छ । केही दिनमै ४ वटामा थपगर्ने र पूर्वाधारका काम भइरहेको तुर्लुङकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सीजन दुराले बताए ।