ट्राफिक सचेतनाका लागि स्लो बाईक रेस प्रतियोगिता

बेसीशहर, लमजुङ, ३ चैत्र ।
ट्राफिक सचेतनाका लागि बेसीशहरमा “स्लो बाईक रेस” प्रतियोगिता सम्पन्न भएको छ । वढ्दो सडक दुर्घटनालाई न्युनिकरणका लागि रोट्रयाक्ट क्लव अफ लमजुङले सचेतनामुलक स्लो बाईक रेसको आयोजना गरेको हो ।

“छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ” भन्ने मुल नाराका साथ शनिवार स्लो बाईक रेस खुल्ला प्रतियोगिता आयोजना भएको हो । रोटा सप्ताहको विशेष अवसर पारेर जिल्ला ट्राफिक कार्यालयसँग समन्वय गरी प्रतियोगिता सञ्चालन गरेको क्लवले जनाएको छ ।

प्रतियोगितामा बेसीशहरका शुरेस श्रेष्ठले निर्धारित दुरी सवैभन्दा विस्तारै चलाएर विजेता बनेका थिए । ४१ जनाको सहभागिता रहेको सो प्रतियोगितामा बेसीशहरकै अमृत विक दोश्रो भए भने गुणराज सिलवाल तेश्रो भएका कार्यक्रम संयोजक रुपेश खतिवडाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम भएका श्रेष्ठलाई बेसीशहरस्थित ग्लोवल बजाज सोरुमले विभिन्न गिफ्ट ह्याम्पर सहितको पुरस्कार उपलब्ध गराएको थियो । हेलमेट, चेष्टगार्ड, बडीस्प्रे लगायतको गिफ्टह्याम्पर उपलब्ध गराएको क्लवले जनाएको छ ।

प्रतियोगिता अघि सहभागिहरुले बेसीशहरको मनाङे चौतारसम्म मोटरसाईकल र्याली पनि गरेका थिए । र्यालीको लागि रोटरी नेपालले इन्ड पोलियो सम्वन्धी सचेतना सहितको टिसर्ट उपलब्ध गराएको थियो ।

रोटरी क्लव अफ लमजुङका अध्यक्ष दिपक पौडेलको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता रोट्रयाक्ट क्लवका अध्यक्ष झमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा रोटरी क्लव अफ लमजुङका पूर्व अध्यक्ष इश्वर जोशीले पोलियो रोग उन्मुलनको लागि रोटरीले खेलेको भूमिका विषयमा जानकारी गराउनुभएको थियो ।

रोटा सप्ताहको अवसरमा यसअघि क्लवले लमजुङ जेसीससँग मैत्रीपुर्ण फुटवल प्रतियोगिता, लागुपदार्थ दुव्र्यसन न्युनिकरणसम्वन्धी सचेतनामुलक छलफल लगायतका कार्यक्रम गरेको थियो भने सोमबार परेवाडाँडाका विद्यार्थीहरुलाई सहयोग कार्यक्रम गर्ने जनाएको छ ।
यसैबीच रोट्रयाक्ट नेपाल ३२९२ का राष्ट्रिय प्रतिनिधीले रोट्रयाक्ट क्लव अफ लमजुङका गतिविधीबारे जानकारी लिएको छ । राष्ट्रिय नेतृत्व सुरज पौडेल सहितको टोलिले शनिवार सदरमुकाम बेसीशहरमा आएर चालु रोटा वर्षमा क्लवले गरेका गतिविधीको बारेमा जानकारी लिएको हो ।

प्रत्येक वर्ष राष्ट्रिय नेतृत्वले मुलुकभरका क्लवहरुमा स्थलगत भेट गर्ने प्रावधान अनुसार लमजुङमा आएको डिआरआर पौडेलले बताउनुभयो । राष्ट्रिय नेतृत्वलाई स्वागत गर्दै रोट्रयाक्ट क्लव लमजुङका अध्यक्ष झमप्रसाद गुरुङले जिल्लामा चालु रोटा वर्षमा भएका गतिविधीहरुको बारेमा जानकारी गराउनुभएको थियो ।