देशभरका विद्यालय भवनहरु अब पहेंलो रंगले रंगिने

काठमाडौं, १२ चैत ।
देशभरका विद्यालय भवनहरु अब पहेंलो रंगले रंगिने भएका छन् । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको छ ।
सरकारले यसअघि विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाएकोमा अब विद्यालय भवनहरु पनि पहेंलो रंगले रंग्याउनु पर्ने बताएको हो । शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो । तर, यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेको छ ।
निर्दे्शिकाको अनुसूची ५ अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्ने र फिका पहेंलो रंग लगाउनुपर्ने उल्लेख छ । पहेंलो रंग उज्यालो हुने र वुद्धिजिवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागमा प्रयोग गर्न भनिएको शिक्षा विभागका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिनुभयो ।
भवनको छानो रातो रंगको टेराकोटा टाइल वा स्लेट हुनुपर्ने छ । यसैगरी झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्ने छ ।
कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रंगको हुनुपर्ने निर्दे्शिकामा उल्लेख छ । यसैगरी सिलिङ, सभाकक्ष, करीडोर र भ¥याङको भित्ताको माथिल्लो भागमा सेतो रंग लगाउन र करीडोर र भ¥याङको तल्लो भागमा भने खैरो रंग लगाउन बिभागले निर्देशन दिएकोे छ ।