सिनोहाइड्रोद्वारा आफ्ना सवारीचालकलाई ट्राफिक तालिम आयोजना

दयाराम दाहाल

भुलभुले, चैत्र १५

भुलभुलेस्थित माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाले बिहिबार आफ्ना सवारीचालकहरूलाई एकदिने सवारी सुरक्षा प्रशिक्षण तथा तालिम दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको विशेष सहयोगमा चारजना प्रशिक्षकले चालकहरुलाई व्यावहारिक तालिम दिएका थिए । ट्राफिक प्रहरीहरू नीरबहादुर अधिकारी, भूमिराज घिमिरे, मिक्रेशकुमार कार्की तथा एकबहादुर मगरको सँयुक्त टोलीले आयोजनाको क्याम्प भवनमा यातायात चलाउदा आइपर्ने बाधाहरूलाई पन्छाएर कसरी यात्रा सफल बनाउने भन्नेबारेमा चालकहरुलाई ज्ञान दिनुभएको थियो ।

“तीब्र गति जीवन क्षति” तथा “ बिस्तारै गए अवस्य पुगिन्छ , हतार गरे भन्न सकिन्न”  जस्ता भनाइलाई मनमा राखेर मात्र हुदैन व्यवहारमा नै उतार्नुपर्छ भन्ने कुरामा तालिममा प्रशिक्षकहरूले जोड दिएका थिए ।

 

नेपाल एउटा पहाडी मुलुक भएको र पहाडमा घुमाउरा बाटा भएको हुनाले होशियारीपूर्वक गाडी चलाउनुपर्ने लमजुंगका ट्राफिक इन्चार्ज प्रनानि नीरबहादुर अधिकारीले बताउनुभयो। यात्रुलाई सहज हुनेगरी गाडी हाँक्नुपर्ने र अति आवश्यकबाहेक चालकले यात्रुसँग कुराकानी गर्नु नहुनेमा उहाँले जोड दिनु भयो । तालिमका  क्रममा धूलोबाटोमा हिउँ परेको बेलामा खोलामा तथा विशेष अवस्थामा कुन विधिबाट गाडी चलाउने भन्नेबारेमा पनि प्रशिक्षण दिइएको थियो । चारैजना प्रशिक्षकले पालैपालो आफ्ना ट्राफिक अनुभवसमेत सुनाएर सुरक्षा नै सवारी चालकको मूल मन्त्र भएकोमा जोड दिएका थिए ।

 

तालिम पश्चात प्रशिक्षार्थीमध्येका एक सवारीचालक रामबहादुर लामाले यस्ता तालिमहरूबाट चालकहरूको ज्ञान र सीप बढ्नुका साथै गाडी चलाउन आत्मविश्वाससमेत जाग्ने बताउनुभयो। अर्का चालक धनबहादुर तामाङले यस तालिमबाट आजसम्म आफूले कहिल्यै नसुनेका र नबुझेका विषयमासमेत गहिरो ज्ञान पाएको बताउनुभयो । तालिमबाट सवारी चलाउदा सजगता बढने र दुर्घटना झेल्नु नपर्ने कुरा अर्का सवारीचालक राजकुमार श्रेष्ठले बताउनुभयो।

 

सिनोहाइड्रो सगरमाथा पावर कम्पनी प्रालिका सुरक्षा निर्देशक श्री ल्याङ चुङ पाउले “हाल नेपालमा विभिन्न कारणले सवारी दुर्घटनाहरू बढिरहेकामा सवारीचालकको लापरबाही, गाडीको तथा बाटोको खराब अवस्था, मौसम र अन्य बिबिध कारणहरूले दुर्घटनाहरू भइरहेका बताउदै दुर्घटनाहरू हुन नदिन र यात्रा सफल बनाउनका लागि यस्ता तालिमहरू आयोजना गरिएको र भविष्यमा पनि यस्ता सुरक्षा तालिम नियमित आयोजना हुने जानकारी दिनु भयो ।

 

५० मेगावाटको सो आयोजनाले सन् २०१३ को जनवरी १ तारिकबाट निर्माणकार्य सुरु भई सन् २०१७ जनवरी १ बाट व्यापारिक उत्पादन सुरु गरेको हो ।