खड्काको निधनले पार्टी र देशलाई अपूरणीय क्षति भएको कांग्रेसको ठहर

काठमाडौं, १९ चैत ।

नेपाली कांग्रेसले आफ्ना दिवंगत नेता तथा  पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको शोकमा पाँच दिनसम्म  पार्टीको  औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

नेता खड्काको दिल्लीको अपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले खड्काको निधनले पार्टी र देशलाई अपूरणीय क्षति भएको ठहर गरेको छ । बैठकले खड्काप्रति उच्च सम्मान प्रकट गर्दै ५ दिन अर्थात २२ गतेसम्म कार्यालय बन्द गर्ने र औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको पार्टी केन्द्रिय कार्यलयका सचिब कृष्ण पौडेलले बताउनु भयो ।

उहाँका अनुसार ७ दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र १३ दिनसम्म केन्द्रिय तथा जिल्ला कार्यालयहरुमा  शोक पुस्तिका राख्ने निर्णय भएको छ । पौडेलले खड्काको  निधनको १३ औं दिन केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गरिने जानकारी दिनु भयो ।