सार्वजनिक जमीनको अवस्था अध्ययन गर्न कार्यदल गठन

लमजुङ, १९ चैत ।
मस्र्याङ्दी गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गाको हालको अबस्था र ती जग्गाको हालको अवस्थाबारे अध्ययन गर्न गाउँ कार्यापालिकाले कार्यदल गठन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलले गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गाको अबस्था, ती जग्गाको अहिलेको अवस्था, अतिक्रमण लगायतका विषयमा बृहत अध्ययन गरि प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको कार्यदलका संयोजक होमबहादुर वि.कले बताउनुभयो । कार्यदल सदस्यमा वडा नं. २ का अध्यक्ष चेतबहादुर गुरुङ, वडा नं. ६ का अध्यक्ष लिलाप्रसाद गुरुङ, वडा नं. ७ का अध्यक्ष युवा घले, प्राविधिक उमेश घले र सदस्य सचिवमा डिल्लीराम शर्मालाई तोकिएको छ ।

कार्यदलले सार्वजनिक जग्गाको हालको अवस्थाबारे जानकारी लिई सार्वजनिक÷नीजि तथा संस्थागत रुपमा भएको प्रयोगको बिबारण, उपयोगको अवधि र त्यसबापत गाउँपालिकालाई तिर्नुपर्ने शुल्क लगायतको विषयमा प्रतिवेदन तयार पारि बैठकमा पेश गर्नेछ ।

गाउँपालिकाका अनुसार स्थानीय दोभानचौर, नायुँ, स्यांगे लगायतका ठाउँमा रहेका सार्वजनिक जग्गाहरु नीजि प्रयोजनका लागि प्रयोग भइरहेको पाइएको छ । सार्बजनिक जमिनहरुको उचित प्रयोग र ब्यबस्थापनका लागि नीति निर्माण गरी आगामी दिनमा सार्बजनिक जग्गाहरु अतिक्रमण हुन नदिने योजना बनाइने छ ।