महायज्ञमा साँढे दुई करोड दान रकम संकलन

लमजुङ बैशाख २ ।
लमजुङको बेसीशहर नगरपालिका ¬१, उदीपुरमा रहेको जनकल्याण माविमा गत फागुन ५ गतेदेखी १२ गतेसम्म आयोजना गरिएको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा साँढे दुई करोड दान रकम संकलन भएको विद्यालयले जनाएको छ ।
विद्यालयले बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रम गरी उक्त कुराको जानकारी गराएको हो । प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञमा नगद २ करोड, ६२ लाख ६७ हजार १७९ रुपैयाँ संकलन भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष एवम् श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञका संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अध्यक्ष अधिकारीले महायज्ञका क्रममा करिब ३० रोपनी जग्गा समेत दान प्राप्त भएको र त्यसको मूल्यांकन हुन बाँकी रहेका जानकारी दिनुभयो ।
महायज्ञका क्रममा ५६ लाख ५८ हजार ७ सय खर्च भएको छ । संकलित दान रकममध्येबाट ८ लाख रुपैयाँ विद्यालयको पुरानो ऋण चुक्त गरिएको र केही संरचनाको निर्माण गरिएको महायज्ञको आर्थिक उपसमितिका संयोजक एवम् वडा अध्यक्ष बलराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १० हजारभन्दा बढी दान दिने दाताको नाम ताम्रपत्रमा राखिने छ र आगामि पुसमा मनाइने विद्यालयको वार्षिकोत्सव सम्ममा ताम्रपत्र तयार गर्ने लक्ष्य राखिएको छ ।
महायज्ञबाट संकलित रकमबाट आगामी वार्षिकोत्सवको अवसरमा उदघाटन गर्ने गरी एक प्रवेशद्वारको निर्माण गर्ने र विमोचन गर्ने गरी एक स्मारिका प्रकाशनको तयारी गरिएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यका साथ महापुराणको आयोजना गरिएको थियो । महायज्ञमा २३ जनाले तुलादान, १७ जनाको ब्रतबन्ध, ६ जनाको चौरासी पूजा, १ जानको ग्रहशान्ति पूजा, १२ सय जना द्धारा शालिग्राम परिक्रम गरिएको आयोजकले जनाएको छ ।
२०७६ सालभित्रमा ११÷१२ कक्षालाई व्यवस्थित गरि प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा पण्डित दीनबन्धु पोख्रेलले भागवत् कथा वाचन गर्नुभएको थियो ।