बेसीशहरका सामुदायिक बिद्यालयमा बिद्युतीय हाजिरी शुरु

बेसीशहर बैशाख ७ ।
बेसीशहर नगरपालिका भित्रका सरकारी तथा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु गरिएको छ ।  नगरको वडा नंं २ भकुण्डेमा रहेको बाल कल्याण माध्यामिक बिद्यालयबाट बिद्युतीय हाजिरीको शुरुवात गरीएको छ । नगरप्रमुख गुमानसिंह अर्यालले बिद्युतीय हाजिरीको उद्घाटन गर्नुभएको हो ।
विद्यालयमा शिक्षकहरु अनियमित हुने, ढिलो आउने र चाँडै विद्यालयबाट जाने प्रबृत्ति विद्युतिय हाजिरी शुरु भएपछि निरुत्साहित हुने विश्वास गरिएको छ । शिक्षकहरुमा जवाफदेहिता बढाई विद्यालय सुधार गर्न विद्युतीय हाजिरीको थालनी गरिएको नगरपालिकाले जनाएको छ ।
विद्यालयहरुमा बिद्युतीय हाजिरी शुरु गरिएपछि सबै अबका दिनमा शिक्षकहरु अनियमित हुने परिपाटीको अन्त्य भइ विद्यालय सुधारको अभियानमा टेवा पुग्ने विश्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीको रहेको छ ।
विद्यालयमा बिद्युतीय हाँजीरी सुरु भएकोमा विद्यालयले पनि खुसी मनाएको छ । प्रधानाध्यापक तीर्थ न्यौपानेले यसमा सहयोग गरेकामा नगरपालिकालाई धन्यवाद दिनुभयो । बेसीशहर नगरपालीकाले नगरभित्रका १३ माबि र ३ आधारभुत बिद्यालयमा बिद्युतीय हाजिरी जडान गरिने जानकारी दिएको छ ।