१९ औ घलेगाउँ महोत्सव बैशाख तेस्रो साता आयोजना हुने

लमजुङ १२  बैशाख
ग्रामीण पर्यटनको माध्यमले विश्वमा नाम कमाउन सफल लमजुङको घलेगाउँमा यही वैशाख अन्तिममा १७ औं घलेगाउँ महोत्सव हुने भएको छ ।
आगामी वैशाख २३ देखि २५ गतेसम्म ‘ग्रामीण पर्यटन प्रर्वद्धन गरी घलेगाउँलाई सुखी र समृद्ध बनाऔं १९ औँ घलेगाउँ महोत्सव भब्यताका साथ सफल पारौँ’ भन्ने नाराका साथ ३ दिने महोत्सवको आयोजना गरिएको मूल आयोजक समितिले जनाएको  छ ।
घलेगाउँमा गठित पर्यटन ब्यवस्थापन समितिले बेसीशहरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव र यसमा गरिने क्रियाकलापबारे पत्रकारहरुलाई बारे जानकारी गराएको हो । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तब्य बन्दै आएको घलेगाउँको थप प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको हो । पर्यटनको माध्यमले यस क्षेत्रलाई नै आर्थिक रुपमा माथि उकास्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको क्होंलासौथर गाउँपालिकाका अध्यक्षसमेत रहेका महोत्सव मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर घलेले जानकारी दिनुभयो ।
घलेगाउँ महोत्सवमा स्थानीय गुरुङ संस्कृति, घाँटु, सोरठी, सेर्का, घ्याब्रे, कृष्णचरित्र लगायत पौराणिक नृत्यहरु प्रदर्शन गर्ने कार्यले निरन्तरता पाउने छ । साथमा स्थानीय खाना महोत्सव, परम्परागत हस्तकला प्रदर्शनी, हिमाली श्रृङ्खला अवलोकन, लोपोन्मुख  भेडिगोठ, र ऐतिहासिक गुरुङ संग्राहलय महोत्सवका थप आकर्षण रहने छन् । महोत्सवकै क्रममा ग्रामीण पर्यटन बारेमा अन्तरक्रियासमेत गरिने बताइएको छ ।
ग्रामीण परिवेश, मनोरम प्राकृतिक सुन्दरता, हिमाली दृष्यावलोकन, परम्परागत हस्तकला, स्थानिय अर्गानिक कृषि उपज र मनोरम सुर्योदय र सुर्योस्तको दृश्यावलोकनका लागि घलेगाउँ प्रसिद्ध छ । साथमा चियाबगान, बोटानिकल गार्डेन अवलोकन महोत्सवमा गर्न पाइने छ
२०५७ सालदेखि ग्रामीण पर्यटनमा फड्को मारेको घलेगाउँ नेपालकै सर्वाधिक आन्तरिक पर्यटक पुग्ने ग्रामीण पर्यटकीय गाउँ बन्न सफल भएको छ । समुद्रि सतहदेखि २ हजार १ सय मिटरको उचाईमा रहेको घलेगाउँमा आउने पर्यटकहरुको संख्या बर्षेनी बढ्नुले पनि पर्यटकहरुको रोजाईमा पर्ने गरेको पुष्टि हुन्छ । अघिल्लो बर्ष १० हजार १ सय ७५ पर्यटक घलेगाउँ पुगेकामा यो बर्षको चैत्रसम्म मात्रै १३ हजार बढी पर्यटक त्यहाँ पुगेका छन् ।
कुल १ सय ५ मध्ये घलेगाउँका ३२ घरमा घरबास कार्यक्रम  सञ्चालन गरिएको छ । तीमध्ये २ दलित घरमा पनि घरबास कार्यक्रम सञ्चालन गरिएको छ ।