प्रजिअ मैनालीको बिदाई, सट्टामा ढकाल आउने

बेसीशहर, बैशाख १४ ।
वरिष्ठ समालोचक तथा साहित्यकारको छविसमेत बनाएका लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनाली सरुवा हुनुभएको छ ।
२०७४ जेठ ३ गतेबाट लमजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा काम थाल्नुभएका मैनाली इलाका प्रशासन कार्यालय फर्पिङमा सरुवा हुनुभएको हो । उहाँको शुक्रबार एक कार्यक्रमको विच जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, राजनैतिक दल र विभिन्न संघसंस्थाले संयुक्त रुपमा बिदाई गरेका छन् ।
बिदाई कार्यक्रममा बोल्दै मैनालीले आफ्नो ११ महिानाको लमजुङ बसाइमा लमजुङका राजनीतिक दल तथा राष्ट्रसेवक र जनताकोसमेत राम्रो सहयोग मिलेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो ।
“लमजुङ जिल्लाका राजनैतिक दल,नागरीक समाज,सरकारी तथा गैसरकारी संघ संस्था,स्थानिय बुद्धिजिवि,समाजसेवी संचारकर्मीहरुले आफ्नो कार्य सम्पादनमा ठुलो सहयोग गर्नुभयो, यसका लागि हृदयबाटै धन्यवाद दिन्छु”– मैनालीले भन्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती लमजुङका जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देल , प्रहरी नायव उपरिक्षक पदम बाहादुर विष्ट ,लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा र नेपाल पत्रकार महासंघ लमजुङका सचिव सन्देश पौडेलले विदाई मन्तव्य राख्र्दै जिल्लाको नराम्रो कुराहरुलाई बिर्सीएर राम्रो कुराहरु अन्य ठाउँमा पनि प्रचार प्रसार गर्न आग्रह गरेका थिए ।
मैनालीको ठाउँमा लमजुङको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयले झंकनाथ ढकाललाई सरुवा गरेको छ ।