सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने लमजुङवासीहरुको माग

खुदी, जेठ ६
लमजुङमा रहेका सरदार भक्ति थापाका सन्ततिहरुले वीर गोरखाली भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् । थापाको जन्मस्थल लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ ढगै बेँसीमा निर्माण गरिएको शालिकको अनावरण गर्ने क्रममा उनका सन्तति र स्थानीयले यस्तो माग उठेको हो ।
सरदार थापाको नवनिर्मित शालिकको शनिबार प्रदेश नं ४ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अनावरण गरे । सो अवसरमा मन्त्री लम्सालले राज्यले वीर भक्ति थापाको योगदानको कदर गरेर राष्ट्रिय विभूति घोषणा गर्न नसक्नु दुःखदायी रहेको बताए । वीर थापाले पु¥याएको उच्च योगदानको कदर गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले भक्ति थापा जस्ता वीर योद्धाकै कारण विश्वमा नेपाली (गोर्खाली)को शिर उच्च रहेको चर्चा गरे ।
भक्ति थापाको जन्मस्थल ढंगैबेँसीमा थापाको शालिकसँगै सङ्ग्रहालय निर्माणमा जुट्ने तयारी रहेको भक्ति थापा जन्मस्थल संरक्षण संवद्र्धन तथा विकास समितिले जनाएको छ । विसं १८०२ मा खुदीको ढंगैबेँसीमा जन्मिएका भक्ति थापाले आफ्नो बाल्यकाल त्यहीँ विताएका थिए । तत्कालीन लमजुङ राज्यको सेनामा भर्ती हुनु अघि सो क्षेत्रमा उनले बस्तुभाउ चराउने, छेलो हान्ने गरेको बताइन्छ । उनले खाइखेलेका सोही क्षेत्रका काँडेचौर, हर्सिङडाँडा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् ।
भक्ति थापा लमजुङे सेनामा रहे पनि लमजुङ राज्यको पतन पछि उनले १८३९ मा गोर्खाली सेनामा गएका थिए । पृथ्वी नारायण शाहको निधन पछि उनकी बुहारी राजेन्द्रलक्ष्मीको नायवी कालमा लमजुङ गोर्खा राज्यसंग पराजित भएको थियो । तत्कालीन लमजुङे राजा वीरमर्दन शाह भागेपछि गोर्खाली फौजका सेनापछि अमरसिंह थापाको विशेष आग्रहमा भक्ति गोर्खाली फौजमा भर्ती भएको इतिहास पाइन्छ ।
नेपाल अंग्रेज युद्धमा भक्ति थापा देउथलको किल्लामा तैनाथ थिए । खुँडा खुकुरी लिएका बालक महिला मिश्रित जम्मा तीनसय सेना साथमासेना लिएर तोप बन्दुकसहितका आधुनिक हतियरले सुसज्जित अंग्रेज फौजसंग उनले युद्ध गरेका थिए । युद्धको क्रममा अंग्रेज फौजको तोप लाग्दासमेत दर्जनौं अंग्रेज सेनालाई खुकुरीले छप्काएका वीर भक्ति थापा ढलेपछि उनको बहादुरीको कदर गर्दै अंग्रेज फौजले उनलाई सलामी दिएको थियो ।
यस्ता वीरको राज्यले उचित सम्मान नदिएको भन्दै लमजुङबासीले उनलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् ।

गोरखाली सेनाले मुलुकलाई अंग्रेजसँग बचाउनका लागि गरेको यही त्याग, तपस्या र जीवनको आहुतिलाई सम्झिएर उनिहरुकै सम्मानमा प्रदेश नं ४ को सरकारले प्रदेशको नाम ‘गोरखा’ प्रदेश राखिनुपर्नेमा जोड दिएका छन् ।