युवाहरुलाई क्षमता अभिबृद्धि तालिम

बेसीशहर,जेठ ९
युवाहरुको नेतृत्व विकास र समाज रुपान्तरणका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । वल्र्ड भिजनको साझेदारीमा जिल्लास्थित जनचेतना अभिबृद्धि तथा विकास अध्यन समिति (कोपाडेस) को आयोजनामा चार दिने तालिम भएको हो ।

वल्र्ड भिजनको साझेदारीमा सञ्चालित युवा लक्षित कार्यक्रम अन्तर्गत तालिम भएको हो । तालिममा सँस्थाको कार्यक्षेत्र अन्र्तगत गठन भएका स्काई युवाक्लवका प्रतिनिधीहरुले सहभागिता जनाएका थिए ।

तालिममा सिप तथा ज्ञानको माध्यमबाट युवा शसक्तीकरणका विषयमा प्रशिक्षण दिइएको थियो । युवा अवस्थामा ज्ञान, सिप, उद्यमशिलता सामूदायिक सेवा, समूदायमा युवाहरुको भूमिका विषयमा तालिम केन्द्रित रहेको कार्यक्रम संयोजक विष्णु चिलुवालले जानकारी दिनुभयो ।

चार दिनसम्म भएको तालिमको सोमबार एक औपचालिक कार्यक्रम गरी समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै कोपाडेसका अध्यक्ष डिकेन्द्र राज कँडेलले समाजमा उद्यमशिल युवाहरुको खाँचो रहेको भन्दै समाजमा सकरात्मक र क्रियाशिल हुन सहभागिहरुलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला युवा समिति लमजुङका अध्यक्ष विवश बुढाथोकीले युवाहरुको सक्रियता विना समृद्धि संभव नरहेको दावि गर्नुभयो । उहाँले युवाहरु उद्यमशिल बन्दै समाज रुपान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासँघ लमजुङ शाखाका सचिव सन्देश पौडेल, वल्डभिजनका प्रतिनिधी सन्तसिँह घले लगायतले समाज रुपान्तरणका लागि युवाहरु जिम्मेबार, उर्जाशिल हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमका सहभागिहरुले चार दिनसम्म तालिमको सिकाई प्रभावकारी भएको भन्दै यसलाई व्यवहारत कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।