चाडपर्वमा विदा कटौती भएकोमा मुष्लिम सँघको आपत्ति

बेसीशहर, ८ जेठ ।
सरकारले आफ्ना मौलिक चाड पर्वमा यस अघि दिँदै आएको विदा कटौती गरेकोमा मुष्लिम संघ नेपालले आपत्ति जनाएको छ ।
नेपाल मुष्लिम सँघ लमजुङले आफ्ना चाडपर्वमा विदा कटौती गरेकोमा आपत्ती जनाउदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत पठाएको छ । मुष्लिम संघ नेपाल लमजुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पठाएको हो ।
नेपाली नागरिकको अथक प्रयास र वलिदानबाट मुलुकमा प्रजातन्त्र, लोकतन्त्र स्थापना भएपनि पछिल्लो समय धार्मिक अधिकारबाट मुष्लिम समूदायलाई बञ्चित गरिएको भन्दै सो पत्रमा उनीहरुले चित्त दुखाएका छन् । मुस्लिम समूदायका मुख्य चाड इद र बकर इदमा कम्तीमा पनि एकदिन सार्वजनिक विदा दिनुपर्ने माग संघले गरेको छ ।
ज्ञापन पत्रमा मुष्लिमहरुको मुख्य चाडपर्वमा विदा दिनुपर्ने माग राख्दैै सविधानले व्यवस्था गरेबमोजिम राज्यका सवै निकायमा मुस्लिम समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व गर्नुपर्ने, मुष्लिम आयोगलाई क्रियाशिल बनाउनुपर्ने, मुष्लिम समूदायमा पठनपाठन हुँदै आएको र हाल सरकारद्धारा रोकिएको मदर्शा शिक्षालाई तत्काल फुकुवा गरी अनुदान उपलब्ध गराउनु पर्ने लगायतका माग रहेको छ ।