जन्मशताब्दीको तयारी चल्दै गर्दा राष्ट्रकवि विरामी

बेसीशहर, ९ जेठ ।

जन्म सताब्दीको तयारी चलिरहेकै बेला राष्ट्रकवि माधवप्रसाद घिमिरे विरामी पर्नु भएको छ । उहाँको शरीरमा आन्तरिक रक्तश्राव नरोकिएपछि उहाँलाई थप उपचारको लागि भारत लैजाने तयारी गरिएको छ ।

काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो ।

विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडा पुस्तुनमा जन्मिएका घिमिरे मुटु, मिर्गौला र फोक्साको रोगले ग्रस्त हुनुहुन्छ । विगत चारमहिनादेखि उहाँको बाराम्बार उपचार गराइदै थियो । एक्कासी गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकविलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको जानकारी दिनुभयो ।

राष्ट्रकविको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

यसैबीच राष्ट्रकविको जन्मशताब्दीमा गृहजिल्ला लमजुङमा विविध कार्यक्रम गरिने भएको छ । उहाँ यही असोजबाट सय वर्ष पुग्दै हुनुहुन्छ  । यस अवसरमा मस्र्याङदी बाङ्मय प्रतिष्ठान काठमाण्डौंले उहाँको  जन्म शताब्दी मनाउने तयारी गरेको हो ।
प्रतिष्ठानले बेसीशहरमा सरोकारवालाहरु भेला गराई राष्ट्रकविको जन्मशताब्दी कार्यक्रमको बारेमा जानकारी गराएको हो । नेपाली साहित्यमा राष्ट्रकविको योगदानको कदर गर्दै उहाँलाई सम्मान र नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढाउन अन्तराष्ट्रियस्तरको कार्यक्रम तय गरिएको मस्र्याङ्दी बाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष डा नवराज पथिकले बताउनुभयो । उहाँका अनुसार राष्ट्रकविको जन्म शताब्दीका अवसरमा काठमाण्डौ र बेसीशहरमा घिमिरेको प्रतिमा बनाउने ,राष्ट्रकविको परिचय पुस्तिका प्रकाशन गर्ने, जन्म गाउँ पुस्तुन बाहुनडाडामा संग्राहलय स्थापना गर्ने, मुलुकभरका विद्यालय, क्याम्पसहरुमा कविता महोत्सव गर्ने, काठमाडौंमा मातृभाषा कविगोष्ठी, विचारगोष्ठी र घिमिरेको सार्वजनिक रथारोहण, नागरिक अभिनन्दन, हुलाक टिकट प्रकाशन, जन्मगाउँ अगाडीको हिमाल घिमिरेको नाममा नामाकरणलगायतका कार्यक्रम  तय गरिएकोे छ ।